Wednesday 3 December 2014

Gita: Chapter 6: Slok 13: श्लोक १३ काया, (शरीर) शिर र गलालाई अचल (नचल्ने) गराएर तथा दिशाहरुलाई नहेरेर खालि आफ्नो

No. 172 

श्लोक १३ 

काया, (शरीर) शिर र गलालाई अचल (नचल्ने) गराएर तथा दिशाहरुलाई नहेरेर खालि आफ्नो नासिकाको अघिल्लो भागमा हेरेर स्थिर भएर वस्नु ।

'काय' शब्द पूरा शरीरको नै नाम भए पनि यहाँ, आसनमा वसिसकेपछि, कम्मरदेखि लिएर गलासम्मको भागलाई लिनु पर्छ । 'शिर'को नाम माथिल्लो भाग अर्थात् मस्तिष्कको हो र 'ग्रीवा' नाम मस्तिष्क र कायाको वीचको भाग हो । ध्यान गर्दा यी काया, शिर र ग्रीवा सम, सीधा रहून् अर्थात् रीढ़को हाडको सबै गाँठाहरु सीधा भागमा रहून र त्यही सीधा भागमा मस्तक तथा ग्रीवा रहोस् । तात्पर्य, काया, शिर, ग्रीवा -- यी तीनै एक सूतमा अचल रहून् । कारण यी तीनै अगाडि झुक्दा निद्रा लाग्छ, पछाडि फर्किंदा जड़ता हुन्छ र दायाँ वायाँ झुक्दा चंचलता हुन्छ । यसैले, अगाडि पनि नझुक्ने, पछाडि पनि नझुक्ने र दायाँ अथवा वायाँ पनि नझुक्ने । लठ्ठी जस्तो सीधा-सरल भएर वसिरहने ।

सिद्धासन, पद्मासन आदि आसनहरु आरोग्यको दृष्टिले पनि ध्यानयोगमा सहायक छन् । परन्तु यहाँ भगवानले सम्पूर्ण आसनहरुको सार चीज वताउनु भयो -- काया, शिर र ग्रीवालाई सीधा समतामा राख्ने । यसैले भगवानले वस्नकोलागि सिद्धासन, पद्मासन आदि कुनै पनि आसनको नाम लिनु भएन, कुनै पनि आसनको आग्रह गर्नुभएन । तात्पर्य, जस्तो सुकै आसनमा वसे पनि काया, शिर र ग्रीवा एक सूतमा नै रहनु पर्छ, किनकि यी एक सूतमा रहँदा मन धेरै छिटो शान्त र स्थिर हुन्छ ।

आसनमा वस्दा कहिले काहिं निद्रा लाग्यो भने आसनवाट उठेर केही वेर यता उता घुम्नु पर्छ । त्यसपछि स्थिरताले वस्ने र यस्तो भावना वनाउने, 'अव मलाई उठ्नु छैन, यता उता झुक्नु छैन । केवल स्थिर र सीधा भई वसेर ध्यान गर्नु छ । 

दशै दिशाहरुमा कतै पनि नहेर्ने; किनकि यता-उता हेर्दा ग्रीवा हल्लिन्छ, ध्यान हुँदैन , विक्षेप हुनेछ । त्यसैले ग्रीवालाई स्थिर राख्ने । 

आफ्नो नासिकाको अग्रभाग हेरिरहने अर्थात आफ्ना नेत्रहरुलाई आधा खोल्ने । कारण, आँखा पुरा चिम्लंदा निद्रा लाग्न सक्छ, र पूरा खुला राख्दा दृश्य देखिन्छ, त्यसपछि चित्त चंचल हुन सक्छ । त्यसैले आँखा आधा खोल्ने भनेको अर्थ, आँखा आधा चिम्लने भनेको नै हो ।

आसनमा वसेपछि शरीर, इन्द्रियहरु, मन आदिको कुनै पनि प्रकारको क्रिया नहोस्, खालि पत्थरको मूर्ति जस्तो वसिरहने । यसरी एकै आसनमा कम से कम तीन घण्टा वस्ने अभ्यास भयो भने त्यो आसनमा साधकको विजय हुनेछ अर्थात् साधक 'जितात्मन' हुनेछ ।

यो प्रसंगमा नासिकाको अग्रभाग हेर्नु मुख्य नभएर मन एकाग्र गर्ने कुरा मुख्य छ ।

श्लोक १४ 

अन्तःकरण शान्त भएको, भयरहित र ब्रह्मचारीव्रतमा रहेको सावधान ध्यानयोगी मन संयम गरेर ममा चित्त लगाउँदै मेरो परायण भएर वसोस् ।

अन्तःकरण राग-द्वेषले रहित व्यक्ति नै 'प्रशान्तात्मा' हो । सासारिक विशेषता प्राप्त गर्ने, ऋद्धि-सिद्धि पाउने उद्देश्य नभएर केवल परमात्मप्राप्तिको नै दृढ उद्देश्य भएको व्यक्तिको राग-द्वेष शिथिल भएर मेटिन्छन् । राग-द्वेष मेटिएपछि स्वतः शान्ति आउँछ र शान्ति सबैलाई स्वतःसिद्ध छ । तात्पर्य, संसारको सम्बन्धको कारण नै हर्ष, शोक, राग-द्वेष आदि द्वन्द्व हुन्छन् र यिनै द्वन्द्वहरुको कारण शान्ति भङ्ग हुन्छ । यी द्वन्द्वहरु मेटिएपछि स्वतःसिद्ध शान्ति प्रकट हुन्छ । त्यही स्वतःसिद्ध शान्ति प्राप्त गर्ने व्यक्ति नै 'प्रशान्तात्मा' हो । 

शरीरलाई 'म' र 'मेरो' मान्दा नै रोगको, निन्दाको, अपमानको, मर्नेको भय पैदा  हुन्छ । परन्तु मनुष्यले शरीरसँग 'म' र 'मेरो' पनको मान्यता छोडिदिने हो भने उसलाई कुनै प्रकारको भय हुँदैन । कारण कि उसको अन्तःकरणमा यो भाव दृढ रहन्छ, यो शरीर वाँच्ने भए वाँच्छ, यसलाई कसैले मार्न सक्तैन र मर्नु छ भने मर्छ, यसलाई कसैले वचाउन सक्ने होइन । यदि यो मरिहालेछ भने पनि ठीकै छ; किनकि मेरो चित्तवृत्ति परमात्मातिर छ, मेरो कल्याण भइहाल्छ । कल्याणमा कुनै सन्देह नभएपछि डर किन ? यस्तो भावले साधक सँधै भयरहित हुन्छ ।

यो श्लोकमा आएको 'ब्रह्मचारिव्रत' भनेको केवल वीर्यरक्षासँग मात्रै होइन, ब्रह्मचारीको व्रतसँग हो ।तात्पर्य, जस्तो ब्रह्म्चारीको जीवन गुरुको आज्ञा अनुसार संयत र नियत हुन्छ, यस्तै ध्यानयोगीको जीवन पनि संयत र नियत हुनुपर्छ । ब्रह्मचारीले शब्द, स्पर्श, रुप, रस र गन्धसँग तथा मान, वड़ाई, र शारीरिक आरामदेखि आफूलाई टाढा राखे जस्तै ध्यानयोगीले पनि कुनै पनि विषय भोगबुद्धिले, रसबुद्धिले, सेवन गर्नुहुन्न, खालि निर्वाहबुद्धिले नै सेवन गर्नुपर्छ । भोगबुद्धिले विषयको सेवन गरियो भने ध्यानयोग हुँदैन । यसैले ध्यानयोगीले ब्रह्चारिव्रतमा रहनु पर्छ । 

वृतमा स्थित रहने तात्पर्य हो, कुनै पनि अवस्था, परिस्थितिमा कुनै पनि कारणले कहिले किञ्चित् मात्र पनि सुखबुद्धिले पदार्थहरुको सेवन नहोस्, चाहे त्यो ध्यानकाल होस् अथवा व्यवहारकाल ।    

भगवान भन्नुहुन्छ, मनलाई संयत गरेर ममा नै लगाउनु अर्थात् चित्तलाई संसारतिरवाट हटाएर केवल मेरो स्वरूपको चिन्तनमा नै लगाउनु । तात्पर्य, सांसारिक वस्तु, व्यक्ति, परिस्थिति, घटना आदिलाई लिएर मनमा हुने संकल्प-विकल्परहित चिन्तन हटाएर खालि ममा मात्रै लगाइरहनु । 

मनमा हुने धेरै जसो चिन्तन भूतकालको र भविष्यकालको नै हुन्छ तथा वर्तमानमा साधक आफ्नो मन परमात्मामा लगाउन चाहन्छ । भूतकालको याद आउँदा यो सम्झनु कि यो घटना अहिले छैन र भविष्यको कुरो मनमा आउँदा पनि सम्झनु त्यो पनि अहिले छैन । वस्तु, व्यक्ति, पदार्थ, घटना, परिस्थिति आदिका संकल्प विकल्प भइरहन्छन्, ती संकल्प विकल्प अहिले नभएका वस्तु, व्यक्ति आदिका नै भइरहन्छन् । हाम्रो लक्ष्य परमात्माको चिन्तनको हो, संसारको चिन्तनको होइन । अतः जुन संसारको चिन्तन भइरहेछ, त्यो संसार पहिले थिएन, पछि रहँदैन र अहिले पनि छैन । परन्तु जुन परमात्माको चिन्तन गर्नु छ, त्यो परमात्मा पहिले पनि थियो, अहिले पनि छ, पछि पनि रहने छ ।
यसरी सांसारिक वस्तु आदिको चिन्तनवाट मनलाई हटाएर परमात्मामा लगाइदिने । कारण, भूतकालको चिन्तन जति नै गरे पनि कुनै लाभ हुने होइन र भविष्यको चिन्तन जति नै गरे पनि त्यो काम अहिले गर्न सकिने होइन तथा भूत-भविष्यको चिन्तन भइरहँदा अहिले गरिरहेको ध्यान पनि हुँदैन र यसरी हामी सबैतिरवाट घाटामा रहन्छौं । 

ध्यान गर्दा सावधान रहने अर्थात् मनलाई संसारवाट हटाएर भगवानमा लगाउन सँधै सावधान, जाग्रत रहने । यसमा कहिले प्रमाद, आलस्य आदि नगर्ने । तात्पर्य, एकान्तमा अथवा व्यवहारमा मन लगाउने सावधानी सँधै वनिरहने, किनकि हिंड्दा-डुल्दा, काम-धन्धा गर्दा पनि सावधानी रह्यो भने एकान्तमा पनि मनलाई रमाउँछ र एकान्तमा मन रमायो भने व्यवहार गर्दा पनि मन भगवानमा लगाउन सजिलो हुन्छ । अतः यी दुवै एक-अर्काको सहायक छन् अर्थात् व्यवहारको सावधानी एकान्तमा र एकान्तको सावधानी व्यवहारमा सहायक हुन्छन् । 

केवल भगवतपरायण भएर वस्नु अर्थात् उद्देश्य, लक्ष र ध्येय केवल भगवानको नै रहोस् । भगवान सिवाय कुनै पनि सांसारिक वासना, आसक्ति, कामना, स्पृहा, ममता नरहोस् । 

आफ्नो विशेषता मान्दा आसुरी सम्पत्ति आउँछ । यसैले भगवानले 'मत्परः' पदले ध्यानयोगीकोलागि पनि आफ्नो परायण हुने कुरो गर्नुभयो । भगवत्परायणतामा भगवानको वल रहनाले विकार छिट्टै हराउँछ र अभिमान पनि रहँदैन । यो भक्तिको विशेषता हो ।

यो श्लोकमा 'मन'  र 'चित्त' -- यी दुई यौटै अर्थ दिने शब्दहरु हुन् । 'मन'ले कुनै वस्तुको वार वार मनन गरिन्छ र 'चित्त'ले कुनै एक वस्तुको चिन्तन गरिन्छ । अतः यहाँ आएको 'मनः संयम्य मच्चित्त:' पदहरुको तात्पर्य हो, संसारको मनन नगर्ने अर्थात् मनलाई संसारवाट हटाइदिने र चित्तले केवल भगवानको चिन्तन गर्ने अर्थात् चित्तलाई केवल भगवानमा लगाइदिने । 

No comments:

Post a Comment