Wednesday 3 December 2014

Gita: Chapter 6: Slok 33: श्लोक ३३ हे मधुसूदन ! हजुरले भन्नु भएको समतापूर्वक योगको पालन गर्न मन चंचल हुने हुनाले म

No. 187 

अर्जुनले भने 
श्लोक ३३  

हे मधुसूदन ! हजुरले भन्नु भएको समतापूर्वक योगको पालन गर्न मन चंचल हुने हुनाले म योगको स्थिति स्थिर देख्दिन । 
मनुष्यको कल्याणकोलागि भगवानले गीतामा मुख्य कुरो वताउनु भयो, सांसारिक पदार्थहरुको प्राप्ति-अप्राप्तिलाई लिएर चित्तमा समता रहनु पर्छ । यो समताले मनुष्यको कल्याण हुन्छ । अर्जुन पापदेखि डराउँथे, त्यसैले भगवानले उनकोलागि भन्नुभयो, 'जय-पराजय, लाभ-हानि, सुख-दुःख, समान सम्झेर युद्ध गर, त्यसो गरे तिमीलाई पाप लाग्दैन ।' दुनियाँमा धेरै पाप भैरहन्छन्, तर ती पाप हामीलाई लाग्दैनन्, किनकि ती पापहरुमा हाम्रो विषम-बुद्धि हुँदैन, सम बुद्धि हुन्छ । समबुद्धिपूर्वक सांसारिक काम गर्दा कर्महरुदेखि बन्धन हुँदैन । यही भावले भगवानले यो अध्यायको प्रारम्भमा भन्नुभयो, कर्मफलको आश्रय नलिएर कर्तव्य-कर्म गर्ने व्यक्ति नै संन्यासी र योगी हो । यही कर्मफलको त्यागलाई  भगवानले समता भन्नुभयो । यो समताको प्राप्तिकोलागि भगवानले दसौं श्लोकदेखि वतिसौं श्लोकसम्म ध्यानको वर्णन गर्नुभयो । यही ध्यानयोगको वर्णनको लक्ष गरेर अर्जुन यहाँ आफ्नो मान्यता प्रकट गर्छन् ।

यहाँ अर्जुनले प्रस्तुत गरेको मान्यता पूर्वश्लोकलाई लिएर नभई ध्यानको साधनलाई लिएर हो । कारण, पच्चीसौं श्लोक ध्यानयोगद्वारा सिद्ध पुरुषकोलागि हो र सिद्ध पुरुषलाई समता स्वतः हुन्छ । त्यसैले यहाँ 'यः' शब्दले यो प्रकरणमा पहिले भनिएको योगको (संकेत) हो र 'अयम्' पदले दसौं श्लोकदेखि अठ्ठाइसौं श्लोकसम्म भनिएको ध्यानयोगको साधनको संकेत हो ।

'एतस्याहम् न पश्यामि चंचलत्त्वात् स्थितिम् स्थिराम्' -- यी पदहरुले अर्जुनको आशय हुन सक्छ, कर्मयोगले त समताको प्राप्ति सुगम छ, तर यहाँ वताइएको ध्यानयोगको समता मनको चंचलताले गर्दा त्यो ध्यानमा स्थिर स्थिति रहन धेरै कठिन देखिन्छ । तात्पर्य, मनको चंचलताको नाश नहुन्जेल ध्यानयोग सिद्ध हुँदैन र ध्यानयोग सिद्ध नभई समता प्राप्त हुँदैन । 

श्लोक ३४                   

कारण हे कृष्ण ! मन धेरै चंचल, प्रमथनशील, जिद्दी र वलवान् छ । यो मनलाई रोक्न म आकाश स्थित वायुलाई जस्तो अत्यन्त कठिन मान्छु । 

यहाँ भगवानलाई 'कृष्ण' नामले सम्बोधन गरेर अर्जुन यो भन्दै छन्, 'हे नाथ ! हजुरले नै कृपा गरेर मेरो यो मनलाई आफूमा लगाइदिनुभयो भने यो मन हजुरमा लाग्न सक्ला । मवाट त यो मन वशमा हुन कठिन छ । किनकि यो मन वडो चंचल छ । चंचल हुनुको साथै यो मन प्रमाथि पनि छ । अझ यो मन धेरै जिद्दी र वलवान् पनि छ । 

भगवानले काम वस्ने पाँच ठाउँ वताउनु भएको छ -- इन्द्रियहरु, मन, बुद्धि, विषय र स्वयं । वास्तवमा काम स्वयं अर्थात् चिज्जड ग्रन्थिमा रहन्छ र इन्द्रियहरु, मन, बुद्धि र तथा विषयहरुमा यसको प्रतीति हुन्छ । स्वयंसँग निवृत्त नहुन्जेल यो काम समय समयमा इन्द्रियहरु आदिमा प्रतीत भइरहन्छ । तर जव यो स्वयंसँगवाट निवृत्त हुन्छ, त्यसपछि इन्द्रिय आदिमा यो रहँदैन । यसवाट यो सिद्ध हुन्छ, स्वयंमा काम रहुन्जेल मनले साधकलाई व्यथित गरिरहन्छ । अतः यहाँ मनलाई 'प्रमाथि' भनिएको हो । यसै गरी स्वयंमा काम रहेको कारण इन्द्रियहरु साधकको मनलाई व्यथित गरिरहन्छन् । यही क्रममा दोस्रो अध्यायको साठियौं श्लोकमा भनिएको छ -- 'इन्द्रियाणि प्रमाथीनि हरन्ति प्रसभं मनः ।तात्पर्य, कामना मन र इन्द्रियहरुमा आएपछि यसले (कामनाले) साधकलाई ज्यादै व्यथित गरिदिन्छ । यसले गर्दा साधक आफ्नो स्थितिमा रहन सक्तैन ।                  
काम स्वयंमा रहने हुँदा मनको पदार्थ प्रति कडा खिंचाव रहन्छ । यसले मन पदार्थहरुतिर जान कुनै पनि किसिमले छोडदैन, हठ गर्छ; यसैले मनलाई दृढ भनिएको हो । मनको यो दृढता बहुत वलियो हुन्छ; यसैले मनलाई 'वलवत्' भनेको हो । तात्पर्य, मन धेरै वलवान् छ, यसले साधकलाई जवर्दस्ती विषयहरुमा लैजान्छ । शास्त्र त यहाँसम्म भन्छ, मन नै मनुष्यको मोक्ष र बन्धनको कारण हो -- 'मन एव मनुष्याणाम् कारणम् बन्धमोक्षयो:।' परन्तु मनमा यो प्रमथनशीलता, दृढता र वलवत्ता त्यही वेलासम्म रहन्छ, जवसम्म साधक आफूवाट कामलाई निकाल्दैन । साधक स्वयं कामरहित भएपछि मात्रै पदार्थहरुको, विषयहरुको कति नै संसर्ग भए पनि साधकमा तिनको कुनै पनि असर पर्दैन । त्यसपछि मनको प्रमथनशीलता आदि नष्ट हुन्छन् ।

स्वयंमा अलिकति मात्रै पनि कामको अंश रहुन्जेल मनको चंचलता वाधक हुन्छ । कामको अंश पूर्णरूपले निवृत्त भएपछि मनको चंचलता वाधक हुँदैन । शास्त्रकारहरुले भनेका छन् -- देहाभिमान (जडसँग म-पना) पूर्णरूपले मेटिएपछि परमात्मतत्वको बोध हुन्छ । त्यसपछि जहाँ जहाँ मन जान्छ, त्यहीं त्यहीं परमात्मतत्वको अनुभव हुन्छ अर्थात् उसलाई अखण्ड समाधि (सहज समाधि) लाग्छ । 

'तस्याहं निग्रहं मन्ये वायोरिव सुदुष्करम्' -- यो चंचल, प्रमाथि, दृढ र वलवान् मन निग्रह (नियन्त्रण) गर्न वडो कठिन छ । आकाशमा चलिरहेको हावालाई कसैले पनि आफ्नो मुठ्ठीमा कसेर राख्न नसके जस्तै यो मनलाई कोही समातेर राख्न सक्तैन । अर्जुन भन्छन् -- 'अतःयसलाई नियन्त्रण गर्न म धेरै मुश्किल मान्छु ।' 

भगवानले उनन्तीसौं श्लोकमा स्वरूपको ध्यान गर्ने साधकको अनुभव वताउनु भयो र तीसौंदेखि वत्तिसौं श्लोकहरुमा सगुण-साकार भगवानको ध्यान गर्ने साधकको अनुभव वताउनु भयो । यी श्लोकहरूमा भगवानको आशय, सबैमा आत्मदर्शन अथवा सबैमा भगवददर्शन गर्नु नै ध्यानयोगको अन्तिम फल हो । ज्ञानको संस्कार भएका ध्यानयोगी सबैमा आत्मालाई र भक्तिको संस्कार भएका ध्यानयोगी सबैमा भगवान देख्छ । सबैमा आत्मा देख्नु 'आत्मज्ञान' हो र सबैमा भगवान देख्नु 'परमात्मज्ञान' हो । आत्मज्ञानमा विवेकको र परमात्मज्ञानमा श्रद्धा-विश्वासको मुख्यता छ, मनको स्थिरताको मुख्यता छैन । परन्तु अर्जुन भित्र ध्यानयोगको संस्कार थियो; त्यसैले उनले आत्मज्ञान अथवा परमात्मज्ञान नहुन मनको चंचलतालाई हेतु (कारण) माने । उनको दृष्टि ध्यानयोगी भित्रको ज्ञान या भक्तिको संस्कारतिर गएन, मनको चंचलतातिर गयो । अतः उनले मनको चंचलतालाई वाधक माने ।   

No comments:

Post a Comment